काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा दिगो विकास, सुशासन, विकास र समृद्धि प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
मुलुकको व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने धारणा उहाँले राख्नुभयो । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा सम्बोधन गर्दै सभापति देउवाले राज्यका सम्पूर्ण निकाय संविधान, कानुन र नैतिक आचरणमा चल्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा गरेको भन्दै उहाँले आगामी यात्रा स्पष्ट हुन जरुरी रहेको बताउनुभयो । संघीय लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य हो, सभापति देउवाले भन्नुभयो ।
यसका लागि संविधानको रक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । प्रतिनिधिसभाले आफ्नो ऊर्जा नेपाल र नेपाली जनताको हितमा लगाउनुपर्ने देउवाले बताउनुभयो ।