• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश

  • OVN
  • February 22, 2023
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश

काठमाडौं । संसद्मा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ पेश भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेश गर्नुभयो । प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई १५ दिनको समयवधि तोकिएको थियो । 

समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो । समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो ।
 
समितिमा सांसद अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाधर चौधरी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवास नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही सदस्य हुनुहुन्थ्यो ।
 
सम्पत्ति शुद्धीकरण विधेयक स्वीकृत
        
प्रतिनिधिसभा बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ बहुमतले स्वीकृत गरेको छ ।
 
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न १ बजे बस्नेछ । रासस

Comments