• DoIB Registration No. 2369/077-78
Wednesday, 10 Dec 2025

प्रकृतिको अनुपम उपहार रारा ताल (भिडीयो रिपोर्ट)

  • OVN
  • May 15, 2021

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो।  समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाईँमा रहेको यो ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 
यसको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ। 
प्रकृतिको उपहारको रूपमा श्रृजित यो ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली अनि यसमा पाइने कस्तुरी, रतुवामृगजस्ता जीवजन्तुका साथै डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा बढाएका छन्। 
यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
यहाँका हरेक दृश्यले मन लोभ्याउछन्। सङ्लो तालको पानीमा कमलको फूल जस्तै देखिने चराले तालमा डुबुल्की मार्दै माछा टिपेको दृश्यले हरेकको मन छुन्छ। अनि हावाको बेगसँगै रंग फेरिने तालले लठ्ठै बनाउँछ।
‘राराकी अप्सरा’ नामको कविता लेखेर राजा महेन्द्रले पनि राराको सुन्दरताको वर्णन गर्ने प्रयास गरेका हुन्। राजा महेन्द्रले वि.स २०२० सालमा यसलाई ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए।
जब हामी रारा ताल पुग्छौं हाम्रा आँखाहरु कत्तिपनि थाक्दैनन्। हेरिरहन मन लाग्छ । ताल नजिकबाट पुरै ताल देख्न सकिदैन। पुरै ताल हेर्न अलि माथिसम्म हिँड्नुपर्छ । यसरी हिडिरहँदा उकालो ओरालाको थकान कत्ति पनि महशुस हुँदैन। 
रारा राष्ट्रिय निकुञ्जको आडैमा सुतिरहेको देशकै सबैभन्दा ठूलो ताल रंग बदलिरहने राराको कञ्चन पानीमा माछाका गतिबिधि नांगो आँखाले नियाल्न पाउँदा पर्यटकहरू त्यही टोलाएको देख्न सकिन्छ।
निलो मसी पोखिएझैं पानी अनि पानीको छेवैमा ठिङ्ग उभिएका सल्ला र धुपीले चारैतिर हराभरा छ रारा, यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म फूलै फूलले ढपक्क ढाकेको हुन्छ।
१०७४ प्रकारका वनस्पति, २१४ जातका चराहरू र ५१ जातका स्थनधारी प्राणीहरु यहाँ पाइन्छन् । यसबाहेक हिउँदको समयमा छिमेकी मुलुक चीनबाट बसाँइ सरेर आउने बिभिन्न प्रजातिका पाहुना चरा पनि आउने गर्दछन् भने वर्षा लागेपछि उनिहरू चीनतर्फ नै फर्कने गर्छन्। 
राराताल मुगुको मात्रै नभएर देशकै गहना हो। यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ। 
कसरी जाने ?
रारा जान हवाई तथा स्थलमार्ग दुबैको प्रयोग गर्न सकिन्छ । स्थल मार्गहुँदै आफ्नै सवारी साधनमा लिएर जान सकिन्छ। सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सकिन्छ। 
हवाई मार्गबाट रारा पुग्ने हो भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राझा विमानस्थल र सुर्खेत विमानस्थलबाट मुगुको ताल्चा विमानस्थल सम्मका लागि उडान भरिएको हुन्छ। ताल्चा विमानस्थलमा उत्रिएपछि करिब दुई घन्टा पैदल यात्रामा रारा पुग्न सकिन्छ।

Comments