• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

पेनाल्टीमा स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश (भिडियो)

  • OVN
  • July 03, 2021

स्पेन युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

स्पेनका लागि पहिलो पेनाल्टी प्रहार गरेका कप्तान सर्जियो बुस्केटको प्रहार सफल हुन सकेन। उनको प्रहार पोस्टमा लागेको थियो।

स्विट्जरल्यान्डका फाबियन स्चारको प्राहरलाई स्पेनका गोलकिपर उनइ सिमोनले विफल पारे। लगत्तै स्पेनका रोद्रीको प्रहारलाई स्विट्जरल्यान्डका गोलकिपर सोमरले विफल पारेका थिए। 

स्विट्जरल्यान्डले फेरि अर्को पेनाल्टी मिस गर्‍यो। एकान्जीको प्रहारलाई स्पेनिस गोलकिपरले रोकेका थिए। लगातार तीन पेनाल्टी मिस गर्ने क्रममा स्विट्जरल्यान्डका रुबेन भर्गासको प्रहार आकासियो।

पेनाल्टी सुटआउटमा स्पेनका ड्यानी ओल्मो, मोरेनो र ओयार्जाबालले गोल गरे। स्विट्जरल्यान्डका लागि भने पहिलो पेनाल्टी हानेका गाभ्रानोभिकले मात्र गोल गर्न सके।

त्यसअघि खेलको आठौं मिनेटमा स्पेनले अग्रता लियो। स्विट्जरल्यान्डका जाकारियाले आफ्नो पोस्टमा गोल गर्दा स्पेनलाई फाइदा पुगेको थियो। 

स्पेनका जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा जाकारियाले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए।

खेलको ६८ मिनेटमा स्विट्जरल्यान्डका कप्तान साकिरीले बराबरी गोल फर्काउन सफल भए। रेमो फ्रेउलरले दिएको पासमा उनले बराबरी गोल फर्काएका थिए। 

७७ मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित हुन पुग्यो। फ्रेउलरलाई रेफ्रीले सिधा रातो कार्ड दिँदै मैदान बाहिर पठाए। स्पेनका जेराल्ड मोरेनोलाई फल गरेपछि उनलाई रातो कार्ड दिइएको थियो।

८४ मिनेटमा स्पेनले खेलमा अग्रता बनाउने अवसर गुमाएको थियो। मोरेनोको प्रहारलाई स्विस गोलकिपर सोमरले उत्कृष्ट बचाउ गरेका थिए। जसका कारण निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो।

खेलको ९२ मिनेटमा मोरेनोले अर्को अवसर खेर फालेका थिए। उनको प्रहारमा स्विट्जरल्यान्डका गोलकिपर बाधक बने। त्यसपछि पनि मोरेनोले गोल गर्ने तीन अवसर खेर फालेका थिए।

स्विट्जरल्यान्डका गोलकिपर सोमरले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनले अतिरिक्त समयमा विपक्षी टिम १० खेलाडीमा सीमित हुँदा पनि गोल गर्न सकेन।

स्पेनले अब आगामी मंगलबार इटाली वा बेल्जियम मध्ये एक टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

Comments