काठमाडौं । विदेश जान र स्वेदशमै पनि कतिपय संस्थामा काम गर्न लिइने पुलिस रिपोर्ट बनाउँदा पनि सर्वसाधारण नागरिक ठगिएका छन् ।
अनलाइनबाट आफैले फर्म भर्न नजान्ने अर्थात प्रविधि र प्रणालीसँग जानकार नभएका सर्वसाधारण नागरिक विचौलिया र मेनपावर व्यवसायीबाट ठगिएका हुन् । पुलिस रिपोर्टका लागि नेपाल प्रहरीलाई कुनै शुल्क तिर्नुनपर्ने भए पनि सर्वसाधारण नागरिकले २ हजार १ सयसम्म मेनपावर व्यवसायीलाई बुझाएका छन् ।
पुलिस रिपोर्टका लागि नेपाल प्रहरीको वेभसाइट मार्फत आवेदन दिएको १ साता भित्र रिपोर्ट इमेल मार्फत नै प्राप्त हुने भएकाले अनावश्यक रकम कसैलाई नबुझाउन नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेक प्रसाद राईले अनुरोध गर्नुभयो । अनलाइनबाटै फारम भर्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गरे यता १२ लाख ६७ हजारभन्दा बढीले अनलाइनबाट यस्तो रिपोर्ट लिएका छन् ।
पुलिस रिपोर्टका लागि दैनिक ३ हजार ९ सय जनाले आवेदन दिने गरेका छन् । आवेदन दिँदा राहदानी र नागरिकताको प्रतिलिपि, विवाहित भए विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ ।