• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

पाँचतले मन्दिर जीर्णोद्धार २०७७ पुस्तक सार्वजनिक

  • OVN
  • June 05, 2021
पाँचतले मन्दिर जीर्णोद्धार २०७७ पुस्तक सार्वजनिक

भक्तपुर नगरपालिकाले ङातापोल्हँ (पाँचतले मन्दिर) जीर्णोद्धार २०७७ पुस्तक र यसको प्राविधिक प्रतिवेदन आज सार्वजनिक गरेको छ। भर्चुयलमाध्यमबाट आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले सो पुस्तक सार्वजनिक गर्नुभएको हो। सो अवसरमा उहाँले ङातापोल्हँ मन्दिर र अन्य सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रूपमा रहेको बताउनुभयो। पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रूपमा रहेको बताउनुहुँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरूलाई दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो।

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले मुख्य–मुख्य स्मारकहरूबारे अध्ययनअध्यापन गराउन पुरातत्वलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले दुईतिहाई बहुमत प्राप्त सरकारले देश र जनताको सेवा गर्न नसेकेको हुँदा निर्वाचनको माध्यमबाट नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। 
    
विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्कीले पाँचतले मन्दिरबारे थप अध्ययन तथा अन्वेषणहरू आवश्यक भएको बताउनुभयो। प्राडा सुदर्शनराज तिवारीले २०७२ सालको भूकम्पबाट क्षति पुगेको पाँचतले मन्दिरको जीर्णोद्धार र सबलीकरणको काममा सल्लाहकारका रूपमा कम गर्न पाउँदा निकै गौरवान्वित महसुस गर्दै मन्दिर जीर्णोद्धारमा देखिएको जनसहभागिताका कारण यस मन्दिरप्रति समाजको अपनत्व हुनु सकारात्मक रहेको बताउनुभयो।
 
प्राडा प्रेमनाथ मास्केले सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको नियमित अनुगमन र मर्मत सम्भार हुनुपर्ने सुझाव दिनुभयो। इतिहासविद् एवम् संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले भूपतिन्द्र मल्लको पालामा पाँचतले मन्दिर ६ महिनाको छोटो समयमा निर्माण भएको तथ्यबारे प्रष्ट पार्दै नेपाल अबका दिनमा सांस्कृतिक सम्पदाहरूबाट चिनिनुपर्नेमा जोड दिनुभयो।
 
कार्यक्रममा ङातापोल्हँ पुनर्निर्माण उपभोक्ता समितिले मन्दिर जीर्णोद्धारदेखिका कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो। पुस्तकमा ङातापोल्हँ मन्दिरको धार्मिक, साँस्कृतिक, इतिहासिक र पुरातात्विक विषयवस्तुबारे जानकारी एवम् यसको निर्माण र जिर्णोद्धारका सम्पूर्ण पक्ष समेटिएको छ। मन्दिरको जिर्णोद्धार भक्तपुरबासी जनताको साथ र सहयोगबाट लगभग ८ महिना सम्पन्न भएको थियो। मन्दिर जिर्णोद्धारका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयले श्रमदान समेत दिएका थिए।
-रासस

Comments