• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नायक शाह कारागारमुक्त

  • OVN
  • February 27, 2023
नायक शाह कारागारमुक्त

दमौली ।  जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त हुनुभएको छ । 

जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा हुनुभएको हो । 

नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद र रु १० लाख जरिवानाको फैसला सुनाएकामा उच्च अदालतको आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाउनुभएको उहाँका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । 

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो । 

नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नवलपुर प्रहरीमा उजुरी परेको थियो । शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Comments