कास्की । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा तयार भएको पोखरा अन्तरष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालको अन्तरराष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुग्नेछ ।
विमानस्थललाई आर्थिक समृद्धिसँग जोड्ने तयारी भइरहँदा पोखराबासी उत्साहित छन् । विमानस्थल चलेपछिको सकारात्मक प्रभाव सम्झेर खुसी लागेको पोखरा महानगरपालिका १० रामबजारका दीलमाया गुरुङको भनाइ छ । करिब ५० वर्षदेखिको सपना विपनामा परिणत हुन लाग्दा जनप्रतिनिधिमा पनि उत्साह थपिएको पोखरा उपमहानगरपालिका वडा ७ का जनप्रतिनिधि अर्जुन थापाले बताउनुभो ।
२०३२ सालमा विमानस्थलका लागि जमिन अधिग्रहण गरिए पनि शिलान्यास हुन ४० वर्ष लाग्यो भने २०७४ देखि निर्माण थालिएको थियो । आन्तरिक उडान आजबाट सुरु हुन लागे पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न बाच्छेबुडुवाबाट फोहोर व्यवस्थापन केन्द्र सार्नुपर्ने र रिठ्ठेपानी डाँडा काट्नुपर्ने काम पूर्ण रूपमा सकिएको छैन ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङले फोहोर व्यवस्थापनको तत्कालीन र दीर्घकालीन विकल्पका बारेमा छलफल गरिरहेको जानकारी दिनुभयो । हाल ल्याण्डफिल साइट पुर्ने काम करिब सकिए पनि ४० मिटर काट्नुपर्ने रिठेपानीडाँडा करिब २० मिटर काटी सकिएको छ । साजसज्जाको काम पनि करिब सकिएको विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीको भनाइ छ ।
जानकारहरूका अनुसार नेपाल आउने ५० प्रतिशत पर्यटक पोखरा पुग्छन् । करिब २ महिनामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटन क्षेत्रको विकासमा विमानस्थल कोशेढुङ्गा सावित हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । विमानस्थल प्रभावकारी रूपमा चल्यो भने विभन्न एयरलाइन्स कम्पनीहरूको आगमनसँगै अन्तर्राष्ट्रिय सहरसँग पोखराको अब सीधा सम्पर्क हुनेछ ।
२५ सय मिटर लामो यो विमानस्थलबाट आन्तरिक उडान सुरु हुँदै गर्दा यसअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले अपेक्षाकृत व्यापारा नगरेको खबर सुनेका पोखरेलीहरू त्यस्तो अवस्था आउँछ कि भन्ने चिन्तामा पनि छन् ।