• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नुवाकोटमा ट्रकसहित सयौँ क्युफिट काठ नियन्त्रण, पाँच व्यक्ति पक्राउ

  • OVN
  • January 08, 2023
नुवाकोटमा ट्रकसहित सयौँ क्युफिट काठ नियन्त्रण, पाँच व्यक्ति पक्राउ

नुवाकोट । नुवाकोटमा विभिन्न स्थानबाट अवैध रुपमा कटान गरिएको सयौँ क्युफिट सालको काठसहित पाँच जना पक्राउ परेका छन् । 

अवैध रुपमा कटान गरिएको आठ सय क्युफिट सालको काठ, त्यसलाई ओसार्न प्रयोग भएको मिनिट्रक र पाँच जना युवकलाई शिवपूरी र सुर्यगढीबाट नियन्त्रणमा लिइएको हो ।

शिवपुरी गाउँपालिका–८ मा बा ४ ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा काजिबहादुर तिवारी, शोभित थपलिया र वसन्त तामाङ रहेका छन् । यस्तै, सूर्यगढी गाउँपालिका–३ फलाटे नजिकै २६ थान सालको रुखको दुई सय १० गोलिया अर्थात सात सय कयुविट सालको काठसहित नन्दबहादुर तामाङ र चन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

सयौं क्युफिट काठ, मिनिट्रकलाई विदुरस्थित वन कार्यालयमा राखिएको छ भने पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको    छ । 
 

Comments