नुवाकोट । जिल्ला प्रशासन कार्यालयले नुवाकोटका विभिन्न स्थानमा रहेका क्रसरहरूको स्थलगत अनुगमन कार्यलाई चार दिनदेखि निरन्तरता दिएको छ ।
जिल्लाभित्र सन्चालित अवैध क्रसर तथा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएको केहि दिनमै प्रशासनले छड्के अनुगमन सन्चालन गरेको हो । चार दिनको अवधिमा नुवाकोटमा ४५ वटा क्रसरमा अनुगमन गरि शिल गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटको विभिन्न स्थानका ४५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरि शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा दर्ता नै नगरि क्रसर सन्चालनमा रहेको पाइएको छ । ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन, प्रशोधन सम्बन्धी क्रसर तथा उद्योगहरू सञ्चालन गर्दा कानून बमोजिम व्यवसाय दर्ता तथा नवीकरण गर्नु पर्ने, उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने तथा नियमानुसार तोकिए बमोजिमको स्थान तथा परिमाणमा मात्र उत्खनन् तथा प्रशोधनको कार्य गर्नु पर्ने व्यवस्था छ ।