• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

  • OVN
  • June 16, 2021
नारायणी नदी इतिहासकै उच्च विन्दुमा

चितवन-  नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०: ५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो। 

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो। 

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो । रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो। 

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ। 
–रासस
 

Comments