काठमाडौं । वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न दृष्टिविहीनहरूले माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०७९ अनुसार आफै मत सङ्केत गर्न नसक्ने दृष्टिविहीन वा शारीरिक अशक्तता भएका व्यक्तिले आफ्नो परिवार भित्रको सदस्य वा मतदान अधिकृतको सहारामा मतदान गर्न पाउँछन् । यो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने नेत्रहीन युवा सङ्घको माग छ ।
सङ्घका अध्यक्ष कलाधर भण्डारीले परिवारका सदस्य वा मतदान अधिकृतमार्फत मात्र नभइ आफूले इच्छाएको जुनसुकै व्यक्तिमार्फत मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । आफ्नो परिवारका सदस्यले फरक राजनीतिक दल वा उम्मेदवारलाई समर्थन गर्ने भएका कारण आफूले इच्छाएको व्यक्तिलाई मत गयो गएन भन्ने बारे विश्वस्त हुन नसक्ने दृष्टिविहीनहरू बताउँछन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दृष्टिविहीन तथ अपाङ्गता भएका व्यक्तिहरूको माग सम्बोधनबारे आयोगले पनि प्राथमिकता दिने जानकारी दिनुभयो ।
२०६८ सालको जनगणनाअनुसार नेपालमा ५ लाखभन्दा बढी विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन् । जसमा ९४ हजार दृष्टिविहीन अपाङ्गता भएका छन् । २०७८ को जनगणनाको नतिजा सार्वजनिक हुँदा यो सङ्ख्या थप बढ्न सक्ने देखिन्छ ।