• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल

  • OVN
  • June 26, 2021
निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी-  उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताउनुभएको छ। उहाँले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताउनुभएको हो।

उहाँले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताउनुभयो । उहाँले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गर्नुभयो।

उहाँले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताउनुभयो। 

अर्थमन्त्रीसमेत रहनुभएका उहाँले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग हुनुपर्नेमा सत्तापक्षीय दलकै बीचमा पनि कतिपय समस्या देखिएकाले यो प्रतिनिधिसभाले राजनीतिक स्थायित्वलाई सुनिश्चितता दिने तथा विकासको अभियानलाई तीव्रता दिन नसक्ने अवस्थामा ताजा जनादेशमा जानुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्नुभयो।

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताउनुभयो । उहाँले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पु¥याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिनुभयो। 

सो परियोजना सम्पन्न गर्न रु १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब रु ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब रु ७४ अर्ब अनुमान गरिएको छ । उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिनुभयो। 
-रासस

Comments