काठमाडौं । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा ४ प्रतिशत बालबालिका नियमित खोप लगाउन छुटेको देखाएको छ ।
यो अघिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको नतिजाभन्दा ३ प्रतिशतले बढेको हो । सरकारले बर्सेनि एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ । जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको प्रतिवेदनले देखाएको छ ।
खोप लगाउन छुटेका चार प्रतिशत बालबालिकालाई खोज्न विद्यालयस्तरमा कार्यक्रम लैजाने तयारी गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो । सन् १९९६ मा २० प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाउँदैन थिए ।
सन् २००१ मा यो सङ्ख्यामा सुधार आउँदै १ प्रतिशतमा झरेको थियो । त्यसपछि क्रमश सन् २००६ मा ३, २०११ मा ३, २०१६ मा १ हुँदै २०२२ मा ४ प्रतिशत पुगेको एनडीएसएसको प्रतिवेदनमा उल्लेख छ ।