• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

नेपालमा भ्रष्टाचारको स्थिति सुधार नहुनुमा राजनीतिक नेतृत्व जिम्मेवार 

  • OVN
  • February 02, 2023
नेपालमा भ्रष्टाचारको स्थिति सुधार नहुनुमा राजनीतिक नेतृत्व जिम्मेवार 

काठमाडौं । नेपालमा भ्रष्टाचारको स्थितीमा सुधार नआउनुमा राजनीतिक नेतृत्व नै प्रमुख दोषी भएको सरोकारवाला निकायले बताएका छन् । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सन् २०२२ मा नेपाल १ सय पूर्णाङ्कमा ३४ अङ्क पाएर १ सय १० औँ स्थानमा छ । गत वर्षको तुलनामा नेपालले यस पटक अङ्कमा झिनो सुधार गरे पनि यो पर्याप्त नभएको सरोकारवालाको बुझाइ छ । 

हरेक दल र सरकारले भ्रष्टाचार घटाउने मात्र नभइ शून्य सहनशिलता अपनाउँदै भ्रष्टाचारलाई निर्मुल पार्ने दाबी गर्दै आएका छन् । तर, तिनै दलहरूले सञ्चालन गर्ने सरकारका पालामा भ्रष्टाचारको अवस्था सुधार हुन सकेको छैन । 

हरेक क्षेत्रमा गरिने राजनीतिक नियुक्ति र दण्डहिनताका कारण भ्रष्टाचारको अवस्थामा सुधार हुन नसकेको विशेष अदालतका पूर्व न्यायाधिश गौरीबहादुर कार्कीले बताउनुभयो । पारदर्शिता र जवाफदेहिताको अभाव, काुननको दुरुपयोग र नियमनकारी निकायको कमजोर उपस्थितीलगायत कारणले देशमा भ्रष्टाचार नघटेको भ्रष्टाचार विरुद्ध लागेकाहरू बताउँछन् । 

नियन्त्रण गर्नुपर्ने व्यक्ति र निकायबाटै नीतिगत भ्रष्टाचार हुनु भ्रष्टाचार नियन्त्रणका लागि चुनौतीका रुपमा रहेको सरकारका पूर्वसचिव तथा सुशासनका अभियन्ता शारदाप्रसाद त्रितालको भनाइ छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मीले राजनीतिक नेतृत्व नसुध्रँदासम्म अवस्था यस्तै रहने बताउनुभयो ।

चुनावमा पैसा लिएर टिकट दिने, चुनाव जित्न करोडौँ रकम खर्च गर्ने, विभिन्न नियुक्तिमा आर्थिक चलखेल हुने जस्ता विषय पटकपटक उठे पनि यी विषय त्यसै सेलाउने गरेका छन् ।
 

Comments