• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, भारी वर्षाको सम्भावना

  • OVN
  • June 11, 2021
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, भारी वर्षाको सम्भावना

काठमाडौँ-  बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ। नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ। दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ।

हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो। आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 
-रासस

Comments