काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
आजदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मत केलाउँदै एमाले हराउन २० सीटमा आफूहरु निर्णायक बनेको उल्लेख गर्नुभएको छ ।
नेपालको प्रतिवेदन अनुसार नेकपा एसका कारण एमालेले तेह्रथुम, भोजपुर, खोटाङ, मोरङ १, सुनसरी ४, उदयपुर १, रौतहट १, रौतहट ४, धादिङ १, काठमाडौं १०, भक्तपुर २, दोलखा, पुर्वी नवलपरासी २, दाङ २, मुगु,दैलेख १, दैलेख २, बझाङ, कैलाली ४ र कैलाली ५ मा हार व्यहोरेको हो । तीमध्ये रौतहट १, दैलेख १ र बझाङमा नेकपा एसका उम्मेदवार विजयी भएका थिए ।
नेकपा एसले पाएको समानुपातिक मतमात्र एमालेमा गएको भए ती सीटमा एमालेका उम्मेदवार सहजै विजयी हुने अध्यक्ष नेपालको दाबी छ । यस हिसाबले एमालेको २० सीट खोस्न नेकपा एस सफल भएको उहाँको निष्कर्ष छ ।
प्रतिवेदनमाथि भोलिदेखि छलफल हुनेछ । त्यसको लागि केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरिने नेताहरूले बताएका छन् ।