• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री तामाङ

  • OVN
  • June 07, 2021
नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री तामाङ

काठमाडौँ- स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताउनु भएको छ। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिनुभयो। निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो। 

“हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तराष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौ ” उहाँले भन्नुभयो, “ हामी अध्ययनमा सफल भयौ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनंसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौ।”स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताउनुभयो। “मानिस जन्मनसाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउछौ, ” उहाँले भन्नुभयो , “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसंग सम्बन्धित सबै उपचार पाउने गर्दछ।”

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी  दिनुभयो। तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरिएका छन्। 

उहाँले सातै प्रदेशमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर सहितको  बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो। उहाँले आगामी बर्षभित्र  ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असार भित्र वोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताउनुभयो। उहाँले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो। “कोरोना विरुद्धको लडाई लडेर जनतालाई कोरोनामुक्त गराउने मेरो प्रथामिकता हुने छ,” उहाँले भन्नुभयो, “ यस लडाइमा सबको उत्तिकै जिम्मेवारीको साथै सहयोग हुनुपर्दछ।” उहाँले कोभिड–१९ बिरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा  श्यया, आइसियू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिनुभयो।  मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने  जानकारी दिनुभयो। यसका लागि  उत्पादक मुलुकसंग छलफल भइरहेको उहाँले बताउनुभयो।

उहाँले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जानकारी दिनुभयो । उहाँले मन्त्रालयका हरेक कामलाई पारर्शी  बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 
-रासस

Comments