काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराउनुभएको हो । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । तर माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् ।
क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताउनुभयो । उनिहरू दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली काँग्रेस दोश्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा ) तेश्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल बनेको छ ।
यस्तै, आज सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेशसभाको भवनमा प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेशसभा सदस्यहरूलाई शपथ खुवाएका हुन् । ज्येष्ठ सदस्यका रूपमा रावलले प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिनुभएको थियो ।
रावलले प्रदेशसभाका अन्य ५२ सांसदलाई शपथ गराउनुभएको हो । ४६ जनाले नेपाली र ६ जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् । प्रदेशसभामा ६ दलको सहभागिता छ । सुदूरपश्चिममा काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।