काठमाडौं । मधेश प्रदेशसभाको सभामुखका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र प्रतिपक्षीदलको तर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य जंगीलाल राई यादवले उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
प्रदेश सभा सचिवालयले आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका राखेकोमा समयभित्र दुई जनाको मात्रै उम्मेदवारी परेको निमित्त सचिव यादवले बताउनुभयो ।
मधेश प्रदेशसभामा हाल १ सय ५ जना प्रदेशसभा सदस्य छन् । १ सय ७ जनामध्ये नेकपा माओवादी केन्द्रका २ जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्चमा रहेका कारण उनीहरूले शपथ ग्रहण गरेका छैनन् ।