काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै नागरिकले घरदैलोमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।
२०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको स्वास्थ्य संस्था अहिले प्रादेशिक अस्पताल बनेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका लगाएत सिन्धुली, रामेछापका नागरिक बिरामी हुँदा धुलिखेल वा काठमाडौँ लैजानुपर्ने बाध्यता थियो । तर भकुण्डेवेशीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत ल्याएर सेवा विस्तार गरिएसँगै नागरिकले गाउँ–घरमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।
मेथिनकोट अस्पतालमा २४ सै घण्टा प्रयोगशाला, एक्स–रे, प्रसुती, तथा फार्मेशी सेवा उपलब्ध छ । अस्पतालमा पर्याप्त विशेषज्ञ चिकित्सक समेत उपलब्ध रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.पुरुषोत्तमराज सेढाइले जानकारी दिनुभयो ।
मेथिनकोट अस्पतालमा सेवा विस्तार भएसँगै दैनिक करिब १ सय जना उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन् । अस्पतालले बिरामीका लागि खाना र खाजाको निःशुल्क व्यवस्था समेत गरेको छ । गुणस्तरीय सेवा प्रवाहका लागि पर्याप्त जनशक्ति भए पनि पूर्वाधारको भने अभाव रहेको छ ।
जसका कारण सेवा प्रवाहमा समस्या परेको छ । १ सय शैयाँको अस्पताल निर्माणका लागि २७ रोपनी सार्वजनिक जग्गा सिफारिस गरी डीपीआर तयार गरिएको अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
घरदैलोमै स्वास्थ्य सेवा पाउँदा काभ्रेका नागरिक खुसी छन् । अस्पताल विपि राजमार्गसँगै निर्माण भएकाले पनि यसमा धेरै नागरिकको पहुँच पुग्न सक्ने विश्वास गरिएको छ । तर सबै प्रकारको औषधिको उपलब्धता र भौतिक पूर्वाधारको भने व्यवस्था हुनु आवश्यक रहेको छ ।