• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

  • OVN
  • June 05, 2021
मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

काठमाडौँ,  प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन्। उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो।  उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच आज विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५३३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा चालकलाई सचेत गराएर छाडिएको छ। 

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम यूनिकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४४ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ।  निषेधाज्ञा उल्लङ्घन गर्ने ६४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम  रु ६० हजार ८०० जरिवाना गरिएको छ।
-रासस
 

Comments