• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा : पूर्वप्रम ओली

  • OVN
  • March 14, 2023
मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा : पूर्वप्रम ओली

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताउनुभएको छ ।

मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताउनुभयो । 

“मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता पुगेको छैन”, अध्यक्ष ओलीले भन्नुभयो । मानवअधिकार पाएपछि नै मानिस समृद्ध हुने भएकाले यसका लागि काम हुनुपर्ने उहाँको भनाइ थियो । 

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारका लागि भेदभाव नगरी बोल्नु मानवअधिकार रक्षकको कर्तव्य भएको बताउनुभयो ।

पूर्वमन्त्री पार्वत गुरुङले समाजको चरित्र निर्माणमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामेश्वर सुवेदी, एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीलगायतले मानवअधिकारको रक्षाका लागि प्रत्येक वर्ष सम्मेलन आयोजना गरिने प्रतिबद्धता जनाउनुभयो । 

बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा ७७ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र पनि जारी गर्ने जनाइएको छ । कार्यक्रममा गत वर्षको दोस्रो सम्मेलनमा व्यक्त मन्तव्यको पुस्तिका सार्वजनिक गरिएको थियो ।रासस

Comments