काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अन्य मन्त्रीलाई रिक्त मन्त्रालयको सँगै जिम्मेवारी थप गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राख्नुभएको छ । पौडेललाई अर्थसँगै, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायसँगै वन तथा वातावरण, युवा तथा खेलकूद, श्रम रोजगार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयको जिम्मेवारी थप भएको छ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उडययन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भएपछि गत जेठ २१ र २७ मा विस्तार गर्नुभएको मन्त्रिपरिषद्का नयाँ उपप्रधानमन्त्रीसहित २० मन्त्रीलाई सर्वोच्च अदालतको यही असार ८ गतेको अन्तरिम आदेशबाट अमान्य ठहर गरिएको थियो।
-रासस