सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चिमा रहेको गुफा डाँडामा हिजोआज आन्तरीक पर्यटकहरूको चहलपहल बढेको छ ।
गुफाडाँडामा २०७५ सालमा पहिलो जलवायु सम्मेलन भएको थियो । यो सँगै गुफा डाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारहरूको निर्माण भएसँगै अहिले गुफा डाँडा पर्यटकको चहलपहलले भरिएको छ ।
मेलम्ची नगरपालिका–९ मा रहेको गुफा डाँडा जलवायु पार्क आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमश्रृृङ्खलाहरूसँगै धुलिखेल, नगरकोटलगायतका उच्च पहाडी ठाउँहरूको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । राष्ट्रिय जलवायु सम्मेलन हुनुभन्दा पहिले चौरी खर्क मात्रै रहेको सो स्थान जलवायु सम्मेलन पछि पर्यटकीय गन्तव्यको रूपमा विकास भएको हो ।
पार्कबाट मनमोहक दृश्य हेर्न र रमाउन पाउँदा खुसी लागेको चौतारासाँगाचोकगढीबाट घुम्न जानुभएका बिन्दु सापकोटाले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, पिकनिक स्थल, भ्यु टावर, रिसोर्ट, कृषि विश्वविद्यालय, खेल मैदान निर्माण गर्ने साथै स्थानीय समुदायको संस्कृति झल्किने सङ्ग्राहलय स्थापना गर्ने उद्देश्य रहेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
परापूर्वकालमा लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण यो ठाउँको नाम गुफाडाँडा रहन पुगेको किंम्बदन्ती रहेको छ ।