• DoIB Registration No. 2369/077-78
Wednesday, 04 Mar 2026

मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

  • OVN
  • May 30, 2021
मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण

सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट  सङ्कलन गरेको फोहर हस्तान्तरण गरेको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२ केजी फोहोर हस्तान्तरण गरिएको हो।


हिमालबाट सङ्कलन गरिएको छ हजार ६०७ केजी फोहोरमध्ये सड्ने/कुहिने एक हजार ७२५ केजी  मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा प्रशंसा गर्दै बधाई ज्ञापन गर्नुभयो।


विश्व वन्यजन्तु कोष नेपालस्थित कार्यालयका निर्देशक डा घनश्याम गुरुङ्ग र इसिमोडका प्रतिनिधि सन्तोष पाठकले कोरोना सङ्क्रमण महामारीको समयमा पनि हिमाल सफाइजस्तो जोखिमपूर्ण जिम्मेवारी लक्ष्य र योजनाअनुरुप नै सम्पन्न गर्नु गौरवको विषय भएको जनाउँदै अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।


सफा हिमाल अभियान २०२१ अन्तर्गत छ वटा हिमालबाट २७ हजार ६७१ केजी फोहोर सङ्कलन गरिएको जानकारी दिइयो। सङ्कलित फोहरमध्ये १७ हजार ८७७ केजी फोहोर प्रशोधन तथा व्यवस्थापनको लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो।
-रासस

Comments