काठमाडौं। चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म निर्जीवन बीमा कम्पनीहरूले १६ अर्ब रूपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मङ्सिर सम्मको वित्तीय विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ९७ करोड रूपैयाँ सङ्कलन गरेका हुन् । सो अवधिमा बीमा कम्पनीहरूले ११ लाख ४७ हजार भन्दा बढी बीमालेख जारी गरेका छन् ।
मङ्सिरमा मात्र कम्पनीहरूले २ अर्ब ६१ करोड रूपैयाँ सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको ५ महिनामा सबै भन्दा धेरै बीमा शुल्क सङ्कलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा १ अर्ब ५४ करोड रूपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी भने बीमा शुल्क बढी सङ्कलन गर्ने दोस्रो कम्पनी बनेको छ । कम्पनीले मङ्सिर सम्म १ अर्ब ३४ करोड रूपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ । यस्तै सबैभन्दा कम बीमा शुल्क नेशनल इन्स्योरेन्सले सङ्कलन गरेको छ । जुन ४१ करोड ३६ लाख रूपैयाँ सङ्कलन गरेको प्राधिकरणले जनाएको छ ।