• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

१८ मगरात क्षेत्रको सबैभन्दा ठूलो भूमे पर्व (भिडियो)

  • OVN
  • June 15, 2021

 

परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका केही भेकका मगर बाहुल्य गाउँ वस्ती हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ। 

विभिन्न गाउँ ठाउँ अनुसार यो पर्वलाई बलपूजा, बल्क, नाम्के, झ्यामकुरी र नोगोवाङ्गे भन्ने गरिन्छ।

प्रत्येक साल असार १ गते सुरू भएर हप्ता दिनसम्म मनाइने भूमे यो क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। पर्व सुरू हुनु भन्दा करीब महिना दिन अघिदेखि जेठ महिनाभरि आ-आफ्ना गाउँ ठाउँमा भेला भएर साँझ पूर्वाभ्याससमेत गरिन्छ।

पर्व सुरू हुन अगाडि थबाङ्गी युवा/युवतिहरू करिब ४ घन्टाको पैदल दुरी पार गरेर जलजला लेकमा बुकी टिप्न जाने परम्परा छ।

करिब ३६०० मिटर उचाइमा रहेको जलजला क्षेत्रलाई सरकारले भ्रमण वर्ष २०२० का लागि उत्कृष्ट १०० गन्तब्य सूचीमा समेत राखेको छ।

पहिलो दिन जलजला गएर बास बसेका उनीहरू भोलिपल्ट डोकाभरी फूल टिपेर फर्किँदा बिच बाटोमा बास बस्छन्। तेस्रो दिन नाच्दै गाउदै गाउँ फर्किन्छन्।

बुकी ल्याए पछि भूमिको पूजा गर्छन्। बल पूजाका रूपमा भेडाको बलि दिन्छन्।

त्यसपछि सुमधुर स्थानीय परम्परागत बाजाको तालमा ताल मिलाउँदै २२ चाला नाच्दै हप्ता दिनसम्म निरन्तर नाच गानमा रमाउँछन्।

पर्व भरि युवायुवति, महिला/पुरूष गोलाकार भई दुई पङ्तिमा स्थानीय बाजाको धुनमा लयबद्द रुपमा धुमधामले नाच्छन्। परिवारजन, साथीभाइ भेटघाट र मिठो मसिनो खानपिन गर्ने र पाहुनालाई आदर सत्कार गर्दै हर्षोल्लासका साथ मनाउने यो पर्व हेर्दै रहरलाग्दो र जो कोहीलाई नाचौंनाचौं लाग्छ।

विशेषगरी मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आ-आफ्ना मौलिक परम्परागत भेषभूषामा सजिएर नाच्ने गर्छन्।

महिलाहरू  गुन्यू चोली, धरो, पछ्यौरी, गाडो, गरगहनामा सजिएका हुन्छन् भने पुरूषहरु चोली, छड्के, पटुका, टोपी, आदि पहिरन लगाउँछन्।

मगरहरु प्रकृतिक पूजक भएकोले भूमिलाई पूजा गर्ने चलन छ। भेडा, कुखुरा र सुँगुरको बलि चढाएर बल पूजा मनाईन्छ।

अन्न बाली सप्रियोस, प्राकृतिक विपत्तिबाट जोगिन सकौं, घर परिवारमा निरोगिता छावस, गाउँ समाज र आफन्तमाँझ सामाजिक सद्‌भाव कायम राख्न यो पर्व विशेष रूपले मनाउँदै आएको छ।  

यो पर्व विशेषत मगर बाहुल्य रूकुम (पूर्व) का महत, सिमा, धर्मशाला, काँक्री, लुकुम,  क्याङसि काँडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ आदिमा मनाईन्छ। त्यस्तै रोल्पाको थवाङ, जेलबाङ, गाम, उवा, मिरूल, धाङसी, सेरम तथा पश्चिम बाग्लुङको निशी, भलकोट, बोवाङमा मनाउने गरिन्छ।
 

Comments