• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

लुम्बिनी प्रदेशमामा घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका श्यया

  • OVN
  • May 26, 2021
लुम्बिनी प्रदेशमामा घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका श्यया

कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ। अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ। 

स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन्। यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ। त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन्। सबैभन्दा कम ७० देखि माथि र १० वर्षभन्दा कम उमेर समूहका छन्। यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमणदर झण्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो।

कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ। अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ। रुपन्देहीका अस्पतालमा श्यया खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकाले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले बताउनुभयो।

खाली हुँदै बाँके अस्पतालका श्यया

कोरोना सङ्क्रमणदर घटेसँगै यहाँका अस्पतालका श्यया खाली हुँदै गएका छन्। एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका श्यया खाली हुँदै गएका छन्।

दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भर्ना हुने बाँकेमा सङ्क्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारका लागि आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो। उहाँका अनुसार सङ्क्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रका रुपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन्। 

मङ्गलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ श्यया खाली भएका वलीले जानकारी दिनुभयो।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड श्ययामा मङ्गलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ श्यया खाली छन्। बाँकेमा अहिले सङ्क्रमितभन्दा कोरोना जितेर घर फर्किनेको सङ्ख्या धेरै छ। कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा सङ्क्रमण र मृत्युदर घट्दै गएको छ। दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ। अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ। 

यसैबीच कोरोना सङ्क्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ। कोरोना महामारी सङ्क्रमणको एक वर्षको अवधिमा उपचारका लागि यहाँस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो। 

उहाँका अनुसार हालसम्म कोरोना सङ्क्रमणका कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो। पछिल्लो पटक आज बिहान उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ। 

-रासस

Comments