• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

खुट्टा भाँचिएका बालकलाई उपचारका लागि अर्थाभाव

  • OVN
  • June 12, 2021
खुट्टा भाँचिएका बालकलाई उपचारका लागि अर्थाभाव

सिमकोट- सिमकोट गाउँपालिका वडा नं ७ का एक बालक माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएर घाइते भएका छन् भने उपचारका लागि अर्थाभावका साथै समस्या निम्तिएको छ।  केही दिन अगाडि जबुका गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हाड बाहिर निस्किएको छ। 

जबुका गाउँभन्दा २० मिटर टाढाको क्षेत्रमा माटो खन्ने क्रममा ढुंगा लागेर घाइते ११ वर्षीय बालकलाई उपचारका लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि  उपचार हुन नसक्ने भएकाले जिल्ला बाहिर रिफर गरिएको छ। उनलाई थप उपचारका लागि जिल्ला बाहिर लैजान घरको आर्थिक अवस्थाले दिएको छैन। 

घाइते बालकका बुवाको केही वर्ष अगाडि नै निधन भएको छ भने आमाले अर्कासँग विवाह गरेका कारण जिल्ला बाहिर थप उपचारका लागि आर्थिक सहयोग गर्ने कोही नभएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो।

बालकलाई उपचारका लागि आजै जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा गाडी लिएर जबुका गाउँबाट जिल्ला अस्पताल सिमकोट ल्याइए पनि  आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार हुन नसक्ने अवस्था रहेको स्थानीयवासी वीरबहादुर सिंहले बताउनुभयो। 
-रासस

Comments