• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

क्यानडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ को सूचीमा इन्द्र महर्जन, भोटिङ लाइन खुला

  • OVN
  • August 08, 2021
क्यानडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ को सूचीमा इन्द्र महर्जन, भोटिङ लाइन खुला

क्यानडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ का लागि सार्वजनिक गरिएको प्रारम्भिक छनोट सूचीमा एक जना नेपालीभाषी परेका छन्।

एक दशकभन्दा बढी समयदेखि वर्षेनी दिइँदै आएको अवार्डका लागि नेपालका इन्द्र महर्जन ‘उत्कृष्ट ७५ आप्रवासी’ को सूचीमा परेका हुन् ।

उक्त सूचीमा परेकामध्ये सबैभन्दा बढी भोट ल्याउने ‘उत्कृष्ट २५’ मा छानिन्छन् र विजेता घोषित गरिन्छ। 

क्यानडाको ब्राम्प्टनमा बस्दै आएका महर्जन पिउने पानी, ढल व्यवस्थापनलगायत क्षेत्रमा काम गर्दै आएका छन्। 

‘क्यानेडीयन इमिग्रयान्ट’ नामक म्यागजिनले आप्रवासीलाई प्रोत्साहन गर्ने उद्देश्यले १३ वर्षदेखि यो अवार्ड प्रतिस्पर्धा सञ्चालन गर्दै आएको छ। उनीसहित मनोनयनमा परेकाहरुबारे अवार्ड आयोजक संस्थाले संक्षिप्त जानकारी पनि प्रकाशित गरेको छ।

महर्जनलाई ढल व्यवस्थापनको क्षेत्रमा सिर्जनात्मक समाधानका उपायहरु अवलम्बन गरिरहेको व्यक्तिका रुपमा उल्लेख गरिएको छ।

यसअघि नेपाली मूलका प्राध्यापक तुलसी धरेल क्यानडाका ‘उत्कृष्ठ २५ आप्रवासी’ मा परेका थिए। गत वर्ष नेपाली व्यवसायी अनिल थापा प्रतियोगिताका लागि ७५ जनाको प्रारम्भिक सूचीमा अटाएका थिए।

पानीका क्षेत्रमा उत्कृष्ट काम गरेवापत क्यानेडियसहित विश्वका मानवको जीवनमा गुणात्मक परिवर्तन गर्न योगदान गरेको कारण महर्जनले यसै वर्ष ‘गभर्मेन्ट लिडर क्याटगरी’ मा ‘वाटर नेक्स्ट अवार्ड’ पाएका छन्।

यसअघि उनले अन्टारियोको सरकारद्वारा दिने ‘एमेथिस्ट अवार्ड’ पनि पाइसकेका छन्। सन् २०१९ मा अन्टारियो मिनिस्ट्री अफ इन्भारोमेन्ट, कन्जर्भेसन एण्ड पार्क्सका परियोजना कार्यान्वयनका क्रममा सिर्जनात्मक र नेतृत्वपूर्ण भूमिका निर्वाह गरेको कारण उनलाई सो अवार्ड दिइएको हो ।

पानी, उर्जा, वातावरण र ढल व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि स्वयंसेवा गरिरहेका उनलाई विभिन्न संघसंस्थाले सात वर्षदेखि युवा र विदेसमा प्रशिक्षित व्यक्तिलाई मार्गदर्शन गरेको भन्दै उनको प्रशंसा समेत गरेका छन्।  

‘प्रोफेसनल इन्जिनियर्स अन्टारियो’ र यसका अरु च्याप्टरहरु, सेन्टर फर कम्युनिटी इनर्जी ट्रान्सफर्मेसनमा सिटी अफ ब्राम्प्टन, रायर्सन युनिभर्सिटीको इन्जिनियर्स इन रेसिडेन्स प्रोग्राममा सहभागी हुँदै आएका उनी अन्टारियोका स्थानीय विद्यालयहरुको ‘प्यारेन्ट काउन्सिल’ मा पनि सक्रिय रूपमा सहभागी भइरहेका छन्।

यस्तै क्यानडा आउने नयाँ मानिसलाई सहयोग गर्ने एजेन्सीहरु डब्लुइएओ, ओडब्लुडब्लुए, सिडब्लुडब्लुए, ओएनइआइए, ओएसपिइ, टिआरआइइसी लगायतका संस्थामा पनि उनले सहयोग गर्दै आएका छन्।

उनले हम्बर कलेज, एसेस इन्प्लोइमेन्ट र रायर्सन युनिभर्सिटीको ‘ग्रीन इकोनोमी प्रोग्राम’ मा पनि विभिन्न किसिमले सहयोग गरेका छन् । यस्तै नवागन्तुक एवं अन्तर्राष्ट्रिय रुपमा प्रशिक्षित इन्जिनियरहरुका लागि धेरै पटक अतिथि वक्ता भएर योगदान गरेका छन् । सफल करिअर बनाउन सकारात्मक बन्न, योजनावद्ध र धैर्यका साथ लाग्न नवागन्तुकहरुलाई प्रोत्साहित दिने गरेको उनको परिचयमा उल्लेख छ ।

इन्जिनियरिङ र बिजिनेस स्टडिजमा मास्टर्स डिग्री गरेका महर्जन एक व्यवसायिक इन्जिनियरका रुपमा अन्टारियो क्लिन वाटर एजेन्सीमा इनोभेसन, टेक्नोलोजी एण्ड अल्टरनेटिभ डेलीभरी डाइरेक्टरका रुपमा कार्यरत छन्।

नेपालमा जन्मे हुर्केका महर्जन दुई भाइबहिनीमा जेठो छन् र उनी आफ्नी श्रीमती र १२ वर्षीया छोरीको साथमा करिब ११ वर्षदेखि क्यानडामा बस्दै आएका छन्।

महर्जनलाई जिताउन यो लिङ्कमा गएर भोट दिन सकिनेछ।  Vote for the Top 25 Canadian Immigrant Awards! | Canadian Immigrant

महर्जनको नामसँगै रहेको भोटमा क्लिक गरेर उनलाई मतादन गर्न सकिने भएको छ।

Comments