• DoIB Registration No. 2369/077-78
Sunday, 07 Dec 2025

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय

  • OVN
  • May 25, 2021
काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा एक सात लम्बियो कडा प्रावधानसहित निषेधाज्ञा, एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आग्रह

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ ।

सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको छ ।

वाणिज्य बैंकका तीन र विकास बैंकका दुई शाखा मात्र खुल्ने पाउने छन् । बैंकका सवारी साधन संचालनको हकमा बढीमा २ वटा सवारी पास जारी गरी सोको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय भएको छ ।

आदेश नमाने हालै ल्याइएको कोभिड १९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जनाइएको छ ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।

Comments