धनुषा । धनुषाको नगराइन नगरपालिकामा कर्मचारीको आन्दोलनका कारण सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
एक महिनाभन्दा बढी समयदेखि कार्यालय, विद्यालय, स्वास्थ्य, कृषिलगायत नगरपालिकाको कार्यालयबाट हुने सबै सेवा प्रवाह ठप्प हुँदा सेवाग्राही मर्कामा परेका हुन् । साउन महिनादेखि तलब भत्ता नपाएको भन्दै तलब भत्ता पाउनुपर्ने माग राखी नगरपालिकाअन्तर्गतका सम्पूर्ण कर्मचारी मङ्सिर १६ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको विषयमा जनप्रतिनिधिबीचको विवादले असार १० मा हुने नगर सभा अहिलेसम्म हुन सकेको छैन ।
नगराइन नगरपालिकाका नगरप्रमुख विनय यादवले नगरपालिकाको समस्या समाधान गर्नका लागि हदैसम्म लचिलो बन्दा पनि उपप्रमुख राधादेवी यादवसहित एमाले तर्फबाट निर्वाचित वडाध्यक्षले नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउनुभयो ।
उपप्रमुख यादवले भने तत्कालीन नगरप्रमुख प्रमेश्वर यादवलाई हितकारी हुने गरी संशोधन गरिएको स्थानीय सरकार सञ्चालन कार्यविधि पुनः संशोधन गरी पहिलाकै अवस्थामा हुनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले सर्वदलीय सर्वपक्षीय बैठक पटकपटक गरे पनि समस्या समाधान हुन नसकेको बताउनुभयो ।