• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

  • OVN
  • July 04, 2021
कोपा अमेरिका : अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। 

अर्जेन्टिनाको जितमा डि पाउल,लाउटारो मार्टिनेज र लिओनल मेसीले एक-एक गोल गरे। 

खेलको ४० मिनेटमा डि पाउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए।

खेलको ४५ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर खेर फालेको थियो। गोन्जालेजले मेसीको पासमा हेडमार्फत प्रहार गरेको थिए। तर उक्त प्रहारलाई इक्वेइडरका गोलकिपरले फर्काए। रिबाउन्डमा गोन्जालेजको प्रहार सफल हुन सकेन।

८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट फिनिसिङ गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेइडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो। 

लगत्तै अर्जेन्टिनाले तेस्रो गोल गर्‍यो। लिओनल मेसीले उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बियाले आइतबार नै भएको खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

अर्को सेमिफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ। 

Comments