• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना

  • OVN
  • June 30, 2021
कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना

काठमाडौँ-  नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।
  
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ। मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभएको बताइएको छ।
 
जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि  नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ। पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ। पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ।
-रासस

Comments