• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

  • OVN
  • November 25, 2021
कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

कर्णाली- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताउनुभएको छ । 

समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताउनुभयो । 

तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उहाँले भन्नुभयो, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।” एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुग्नुभएको हो । 
- रासस
 

Comments