• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

  • OVN
  • June 29, 2021
‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

काठमाडौँ-  राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ । सरोकार निकायसँग छलफल  नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा  आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराएको छ।

“प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्षपरम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीको मौलिक वहाव नै परिवर्तन गरी अन्यत्र लैजान खोज्नु दुःखद् हो , यसलाई सच्याइनुपर्छ ”–उहाँले भन्नुभयो।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण हुने गरी  कालीगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन नगर्न परिषद्ले सरकारसँग माग समेत गरेको छ। 

 गुरुकुल शिक्षा पद्धतिका अनन्त स्रोतका रुपमा रहेका नदीका तटमा नै अहिले पनि गुरुकुल र आश्रम चलिरहेका छन् । प्राचीनकालदेखि नै गुरुकुल नदी किनारमै सञ्चालन हुँदै आएको छ । शिक्षा आर्जनको माध्यम बनेका नदी प्राचीन सभ्यताका साक्षी भएकाले यसको संरक्षणमा सबैको साथ हुनुपर्नेमा परिषद्ले जोड दिएको छ।
-रासस

Comments