• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै

  • OVN
  • June 09, 2021
ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण हुँदै

दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाबिस्थान मन्दिरको पुनः निर्माण कार्यको काम थालिएको छ। पुरातत्व विभागबाट रु ४० लाख रकम विनियोजन भएपछि नाबिस्थान मन्दिर पुनःनिर्माण हुन लागेको हो। 

निषेधाज्ञाको समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण कार्य थालनी गरेको छ। मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ। लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र  ऐतिहासिक महत्व बोकेको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला मन्दिरलाई पुनः बनाउन लागेको देख्दा निकै खुशी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो। मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिनुभयो। 

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण कार्य सम्पन्न गरिने पनि उहाँले बताउनुभयो। डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको सोही अनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्दिर पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ। स्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ।

नाबिस्थान मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ। दैलेखको पवित्र तीर्थस्थलले परिचित  पञ्चकोशीधामअन्तर्गतमा श्रीस्थान, नाबिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ। सो मन्दिरमा अनवरत रुपमा सदियौ देखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ।
-रासस
 

Comments