काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायक सङ्घ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिरेको भन्दै आफूहरूलाई अनावश्यक दबाब दिइरहेकाले हस्तक्षेप गर्न अपिल गरेको हो ।
विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगंज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, धनकुटा, दुहबीलगायतका स्थानहरूमा इन्टरनेटको तार काटेको सङ्घले जनाएको छ । तार काट्ने क्रम बढ्दै गएको भन्दै आइस्पानले इन्टरनेट सेवा सहज रुपमा सञ्चालन गर्न असमर्थ हुने भन्दै जुनकुनै बेला देशभर इन्टरनेट डाउन हुन सक्ने तर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गरेको छ ।
देशको दूरसंचार क्षेत्र नियमन गर्न र यस क्षेत्रको संरक्षण गर्न दूरसंचार ऐन, २०५३ ले नेपाल दूरसञ्चार प्राधिकरणलाई अधिकार दिएको छ । तापनि विद्युत प्राधिकरणले दूरसंचार सेवा संचालन गर्न वा दूरसंचार पूर्वाधारको भाडा कायम गर्न दूरसंचार प्राधिकरणबाट अनुमति लिएको छैन । नियमनमा नआइ मोनोपोली रुपमा पोलभाडा ६ देखि ७ सय प्रतिशतसम्म वृद्धि गरेको सङ्घका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो ।