काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ ।
जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउनेछन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको बताउनुभयो ।
नयाँ नियमअनुसार हाल दैनिक १० घण्टा र १० उडान गर्न पाउने प्रावधान रहे पनि अब एउटा पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन् । जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउँदैनन् ।
यस्तै पहाडी क्षेत्रमा हुने ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्नेछ ।