काठमाडौं । हिउँदमा पर्याप्त पानी नपर्दा किसानलाई चिन्ता थपिएको छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब ६० प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन् ।
तर उनिहरूलाई सिँचाईको पर्याप्त व्यवस्था भने हुन सकेको छैन । जसका कारण किसानले सिँचाईका लागि आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता छ । केहीदिनअघी पश्चिम नेपालका केही क्षेत्रमा सामान्य वर्षा भएपनि अरु स्थानमा यसवर्ष अहिलेसम्म हिउँदे वर्षा भएको छैन ।
पानी नपर्दा अलैँची, अम्रिसो लगायतमा राम्रोसँग फूल फुल्न नपाएको पाँचथरका किसान प्रेमकुमारी दाहाले बताउनुभयो । पानी नपरेका कारण ललितपुर चाँगाथलीका किसान नन्दकृष्ण भट्टराई पनि गहुँ छर्न पाउनुभएको छैन ।
सरकारी तथ्याङ्क अनुसार झन्डै साढे २६ लाख हेक्टर जमिन खेतीयोग्य रहेको नेपालमा १७ लाख ६६ हजार हेक्टर सिंचाईयोग्य जमिन छ । सरकारको पहलमा सिँचाइ सुरु भएको ९६ वर्षमा १० लाख हेक्टर जमिनमा मात्रै सिंचाई पुगेको छ ।
करिब ८ लाख हेक्टर जमिन आकाशे पानीकै भरमा छ । यसपटक आकाशे पानी नपर्दा बाली लगाउन ढिलाइ मात्रै होइन पानीका स्रोत पनि सुक्न थालेका छन् । जसका कारण बाली लगाउन नपाउने र लगाएको बाली समेत सुक्ने चिन्ता थपिएको छ ।