• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

  • OVN
  • June 07, 2021
हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

पोखरा- कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन्।

विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन्। अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिनुभयो। “हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो।

उहाँका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट शुरुमा रु २० हजारबाट सो अभियान शुरु गरेको हो। अहिले लायन्स क्लबका सदस्य एवम् गैरसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन्। हालसम्म करीब रु चार लाखको राहत सामग्री वितरण भइसकेको उहाँले जानकारी दिनुभयो।  

बिहान ६:०० देखि ९:०० बजेसम्म सञ्चालन गरिएको सो अभियानमा  दैनिक १३० देखि माथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिनुभयो। “हामी नाम टिपाउँछौँ, सकेसम्म दिनदिनका लागि भनेर सामान लैजान भन्छौँ, उहाँहरु आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने  गर्नुहुन्छ”, उहाँले भन्नुभयो। त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उहाँको भनाइ छ। पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ।
-रासस

Comments