धनगढी । सुदूरपश्चिम प्रदेशको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको गेटा मेडिकल कलेज सञ्चालन गर्ने विषय अझै अन्योलमा देखिएको छ ।
६ सय बेडको यो मेडिकल कलेजका लागि आवश्यक संरचना बनिसके पनि छुट्टै विश्वविद्यालय बनाउने वा प्रतिष्ठान बनाएर चलाउने भन्ने टुङ्गो लाग्न नसक्दा सञ्चालन नै अन्योलमा परेको हो ।
सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा र उपचारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने ठानिएको गेटा मेडिकल कलेज सञ्चालन हुने आशा गर्न थालेको वर्षौ भए पनि यो विषय अन्यौलमै छ । मेडिकल कलेज सञ्चालन भए यो प्रदेशकै लागि कोषेढुङ्गा हुने स्थानीय बासिन्दाको आशा छ ।
कुनै पनि बहानामा मेडिकल कलेज सञ्चालनमा ढिलाई गर्न नहुने नागरिक दबाब समूहका अगुवा रबिन पन्तले बताउनुभयो । २०७४ सालदेखि निर्माण सुरु गरिएको यो मेडिकल कलेजमा अस्पताल, कलेज, छात्राबासलगायत २९ वटा आधुनिक भवन निर्माण भइसकेका छन् ।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डाक्टर प्रदीप मिश्रले नीतिगत कुरा टुङ्ग्याएर तत्काल मेडिकल कलेज सञ्चालन गर्नुपर्ने बताउनुभयो । गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा सञ्चालन गर्नुपर्ने सुदूरपश्चिमबासीको माग छ । तर, सरकारले भने प्रतिष्ठान बनाउने ढङ्गले कागजी प्रक्रिया अगाडि बढाएको उनीहरूको दाबी छ ।