• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

 गुणस्तरहीन कामको असर: सामान्य वर्षाले भत्कियो दमौली खेलमैदानको पर्खाल

  • OVN
  • June 07, 2021
 गुणस्तरहीन कामको असर: सामान्य वर्षाले भत्कियो दमौली खेलमैदानको पर्खाल

दमौली- तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ। गुणस्तरहिन काम गरेको असरका कारण आइतबार परेको वर्षाले पर्खाल भत्किएको हो। 

नगरपालिकाले विसं २०७६ सालमा सम्झौता गरी उपभोक्ता समितिमार्फत् उक्त काम गराएको थियो। कूल रु ५० लाखको योजनामध्ये रु दश लाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। 

नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई रु १३ लाख २० हजार पेश्की दिएको थियो। उपभोक्ता समितिले पर्खाल निर्माणको काम एकदमै गुणस्तरहिन गरेकोले कमजोरी लुकाउन केही समय अगाडि मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो। 

नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको बताएको छ। उपभोक्ता समितिले गरेको काम प्राविधिक हिसाबले नभएपछि नगरपालिकाले विसं २०७७ साउन २१ गते सम्झौता रद्द गरेको थियो। 

उपभोक्ता समितिमार्फत् रु १७ लाखको काम भएको मूल्याङ्कनपछि नगरपालिकाले आफ्नो दायित्वको ८० प्रतिशत रकम फछ्र्यौट गरेको योजना कार्यान्वयन उपशाखाका नासु भेषराज तिवारीले जानकारी दिनुभयो। “उपभोक्ता समितिले पेश्कीबापत् लगेको रकममात्रै फछ्र्याैट भएको छ, थप रकम भुक्तानी भएको छैन,” उहाँले भन्नुभयो। उपभोक्ता समितिमार्फत् भएका कामको नगरपालिकाका इन्जिनियरले मूल्याङ्कन गर्न नसक्ने भएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ। बिममाथिबाट पिल्लर उठेको हुनाले त्यो भन्दा माथि थप संरचना निर्माण गर्न नमिल्ने प्राविधिकले ठहर गरेका थिए। “इन्जिनियरिङ पाटोबाट जति मूल्याङ्कन गर्न सकिन्थ्यो त्यतिमात्रै मूल्याङ्कन भएपछि सम्झौता रद्द भइसकेको छ,” तिवारीले भन्नुभयो। 

व्यास नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर डा. राजु पौडेलले आफू घरायसी कामका कारण जिल्ला बाहिर रहेकाले नगरपालिकाका अर्का इन्जिनियरलाई यसबारेमा बुझ्न पठाएको जानकारी दिनुभयो। उपभोक्ता समितिका अध्यक्ष कुमार श्रेष्ठले भने पर्खाल भत्किएको विषयमा आफूलाई जानकारी नभएको र उक्त काम पहिल्यै आफूहरुले छाडिसकेको प्रतिक्रिया दिनुभयो। 
-रासस

Comments