• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु

  • OVN
  • November 25, 2021
गुण एयरलाइन्सको चितवन–पोखरा उडान सुरु

भरतपुर-  चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि  भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।
एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि  भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि  विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।” 

असोज १ गतेदेखि  काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”
– कृष्ण आचार्य, रासस
 

Comments