• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

फेवातालका डुङ्गा चालकलाई राहत

  • OVN
  • June 04, 2021
फेवातालका डुङ्गा चालकलाई राहत

पोखरा, पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन  (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ। 
कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो। “लामो समय भयो, निषेधाज्ञा छ ,काम गरेर बहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौँ। ”

बरालका अनुसार डुङ्गा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको  पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो। थप समस्यामा परेका ३२ जनाको  पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिनुभयो।  
 
आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो। राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा समस्या भइरहेका समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दिनचार्या चलाउने दिनको पर्खाइमा रहेको बताउनुभयो। व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुङ्गा चालक छन्। तीमध्ये चार सयले आफ्नै तथा बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन्। 
-रासस

Comments