• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

फिक्सिङको भुमरीमा नेपाली क्रिकेट, अनुसन्धानमा जुट्दै प्रहरी 

  • OVN
  • January 04, 2023
फिक्सिङको भुमरीमा नेपाली क्रिकेट, अनुसन्धानमा जुट्दै प्रहरी 

काठमाडौं । पटक पटक मिति सर्दै सुरु भएको नेपाल टी ट्वेन्टी क्रिकेट लिगको ११ औं दिनसम्म आईपुग्दा, केही विदेशी खेलाडी र प्रशिक्षक घर फर्किएका छन् ।
 
पारिश्रमिक नपाएको भन्दै खेलाडीले खेल्न नमाने पछि हिजो काठमाडौँ र बिराटनगरका खेलाडीलाई बल्लतल्ल मनाएर खेल खेलाइए पनि आयोजक नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको विश्वसनीयता माथि उठेका गम्भीर प्रश्नको जवाफ दिन सकेको छैन । 

अझ, काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले हिजोको खेलपछि आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङका लागि कसैले प्रस्ताब गरेको बताएपछि नेपाली क्रिकेटमा तरङ्गित बनेको छ । खेल मिलेमतोका लागि खेलाडीलाई प्रस्ताब आएको कुरा सार्बजनिक हुनुअघि नै यो प्रतियोगितामा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले मैदानभित्र खेलाडीको अस्वभाविक गतिविधि देखिएको भन्दै आफु प्रतियोगिताबाट अलग्गिएको घोषणा गर्नुभएको थियो । 

प्रतियोगिताबारे नेपालका क्रिकेट विश्लेषकले मात्र होइन आयोजक नेपाल क्रिकेट संघ क्यानकै सदस्यले पनि प्रश्न उठाएका छन् । क्यानले ब्यावसायिक र रणनितिक साझेदार बनाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका मालिक नै सम्पर्कविहिन रहेको क्यानका पदाधिकारी नै बताउँछन् । खेल मिलेमतोकै विषय सार्वजनिक हुनु नेपाली क्रिकेट जगतकै लागि लज्जाको विषय बनेको छ । 

क्यानका बोर्ड सदस्य, छुम्बी लामा यस विषयमा छानबिन हुनुपर्ने बताउनुहुन्छ । कसैले फिक्सिङका लागि प्रस्ताब गरेको भए खेलाडीले सार्बजनिक गर्नु पर्ने र असुन्धानका लागि सघाउनु पर्ने लामाको भनाई छ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि हिजो समाजिक सञ्जालमा लेख्दै नेपाल टी ट्वेन्टी लिगको निष्पक्ष छानविन गर्न माग गर्नुभएको छ । काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको हो । 

गृहमन्त्री रवि लामिछानेले समेत नेपाल प्रहरीलाई नेपाल टि–ट्वेन्टी लिगबारे अनुसन्धानका लागि निर्देशन दिनुभएको छ । प्रहरी आफ्नो काममा जुटिसकेको छ । तर, यस्ता घटनाले पछिल्लो समय यसै खस्किँदो अबस्थामा रहेको नेपाली क्रिकेटको साख अझै गिराउने तथा पूर्व खेलाडी तथा क्रिकेट प्रशिक्षक कलाम अली बताउनुहुन्छ । 

नेपाल टी–ट्वेन्टी लिगको प्रायोजक रहेको वान एक्स ब्याट, बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी भएकाले पनि लिगमा फिक्सिङ र बेटिङ भइरहेको हुन सक्ने शंका बढाएको छ । यो विषयको प्रभावकारी र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही नगरे नेपाली क्रिकेटको ओरालो यात्रा अझ तिब्र बन्ने विश्लेषकहरु बताउँछन् ।  
 

Comments