काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नेपाली काँग्रेसले राष्ट्रपतिको दाउ ताक्नु धमिलो पानीमा माछा मार्ने काम हुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल, पाल्पा शाखाले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा ज्ञवालीले राष्ट्रपति एमालेले नै पाउने दाबी गर्नुभयो । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने उहाँको भनाइ छ ।
आफूसँग भएको सत्तालाई व्यवस्थापन गर्न नसक्दा काँग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छ कि भनेर राष्ट्रपतिको दाउ ताकेको उहाँको टिप्पणी छ । केही दलले छिर्के दाउ हानेर वर्तमान सत्तागठबन्धन तोड्ने प्रयास गरिरहेको उहाँको आरोप पनि छ ।
अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयमा सबै दल इमानदार रहेको उल्लेख गर्दै प्रतिपक्ष बन्न पाउँ भन्दै काँग्रेसले संसद सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको उहाँको तर्क छ ।
मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको नेता ज्ञवालीले बताउनुभयो ।