काठमाडौं । देशका धेरैजसो स्थानीय तहमा बैङ्कको पहुँच पुगेपछि शाखारहित बैङ्किङ सुविधा घट्न थालेको छ ।
एक वर्षमा करिब साढे दुई सय शाखारहित ब्याङ्क घटेका नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । पोहोरको असोजसम्म १ हजार ७ सय ५२ शाखारहित ब्याङ्क सञ्चालनमा रहेकामा गएको असोजसम्म यो सङ्ख्या १ हजार ५ सयमा आइपुगेको छ ।
शाखारहित ब्याङ्क घटे पनि पछिल्ला महिनामा कारोबार सङ्ख्या र कारोबार रकम भने बढेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । डिजिटल ब्याङ्किङको पहुँच बढेको र अधिकांश स्थानीय तहमा ब्याङ्कको शाखा पुगेकाले शाखारहित ब्याङ्कको सङ्ख्या घटेको हुनसक्ने नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो ।
पछिल्ला केही महिनामा शाखारहित ब्याङ्किङ मार्फत भएका कारोबारमा सर्वसाधारणको करोडौँ रकम हिनामिना भएको तथा विदेशबाट हुन्डीमार्फत नेपाल भित्रिएको रेमिट्यान्स शाखारहित ब्याङ्किङ प्रणालीमार्फत आन्तरिक रेमिट्यान्सका रुपमा मुलुकका विभिन्न स्थानमा गएको आशङ्का समेत राष्ट्र ब्याङ्कले गरेको छ ।