• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

एक महिना मेलम्चीको पानी वितरण नहुने

  • OVN
  • June 03, 2021
एक महिना मेलम्चीको पानी वितरण नहुने

काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ। सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो। उहाँका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ।

त्यस्तै, २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ। दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो। उहाँले भन्नुभयो, “कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुन्छ।”

झण्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौँ ल्याइएको थियो। अहिले अन्य समस्या भने देखिएको छैन। आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौँमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो।

सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ। शुरु भएको झण्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो।

सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रुपमा लिएको छ। सरकारले मेलम्चीकै दोस्रो खण्डका रुपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ। हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो। सरकारले आगामी आबमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।

Comments